‘मुस्लिम’ राइडर परिवर्तन गर्न चाहने हिन्दू ग्राहकलाई जाेमाटाेकाे कडा जवाफ

काठमाडौं, १५ साउन । भारतको एक खाना डेलिभरी गर्ने एप कम्पनी जोमाटो इन्डियाले बुधबार एक ग्राहकको गुनासो सम्बोधन गर्न अस्विकार गरेको सार्वजनिक भएपछि इन्टरनेटमा लाखौंको मन जितेको छ ।

एक हिन्दू ग्राहकले खाना अर्डर गरेपछि गैर हिन्दू डेलिभरी व्बाइ भएका कारण डेलिभरीब्वाइ परिवर्तन गर्न माग गरेका थिए । तर, कम्पनीले धर्मको आधारमा डेलिभरी ब्वाई परिवर्तन गर्न नमिल्ने भन्दै बरु यस्तो ग्राहक नचाहिने प्रतिक्रिया दियो ।

यस विषयले अहिले भारतमा तहल्का नै मच्चिएको छ । धर्मको आधारमा भेदभाव गर्न खोजेको भन्दै ग्राहकलाई नै त्यागिदिए पछि धेरैले सामाजिक सञ्जालमा जोमाटो इन्डियाको प्रशंसा गरेका छन् । तर, केहिले भने ग्राहकको धार्मिक भावनाको पनि कदर गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

यस्तै केही हिन्दूवादीले भने खानाको कुनै धर्म नहुने बताउने जोमाटोले हलाल खाना किन बेचेको भनेर प्रश्न पनि गरेका छन् ।

खासमा भएको के थियो त ?

मंगलबार भारतको मध्यप्रदेशको जवलपुरमा बस्ने अमित शुक्लाले एक ट्विट पोस्ट गरे । जसमा उनले लेखेका थिए, ‘जोमाटो इन्डियामा भर्खरै एक अर्डर रद्द गरिदिँए । उनीहरुले मेरो खाना डेलिभरी गर्नको लागि एक गैर हिन्दू राइडरलाई लगाए र उनीहरुले राइडर परिवर्तन गर्न नसक्ने र रद्द गरेमा पैसा फिर्ता गर्न नसक्ने बताए । मैले उनीहरुलाई भने– तपाईंहरुले मलाई डेलिभरी लिन बाध्य बनाउनुसक्नुहुन्न । मलाई चाँहिदैन, पैसा फिर्ता नगरेपनि नगर्नुहोस् अर्डर क्यान्सिल गर्नुहोस् ।’

नमो सरकार ट्विटर ह्यान्डलबाट ट्विट गरेका शुक्लाले उनको खाना डेलिभरी गर्नको लागि फैयाज नामका राइडर तोकिएपछि खानाको अर्डर रद्द गरका थिए ।

उनले एपको च्याट सपोर्टसँग भएको कुराको स्क्रिन सट पनि सेयर गरे । राइडर किन परिवर्तन गर्न चाहनुहुन्छ भन्ने प्रश्नमा उनले उत्तर दिएका थिए, ‘हाम्रो श्रावण महिना छ र म मुस्लिम युवकले डेलिभरी गरेको खाना चाहन्न ।’

हिन्दू पात्रो अनुसार श्रावण महिनालाई पवित्र महिना मानिन्छ र यो महिना भगवान शिवप्रति समर्पित रहेको छ ।

जोमाटोको प्रतिक्रिया

कम्पनीले धर्मको आधारमा राइडर परिवर्तन गर्न अस्विकार गरिदियो । कस्टुमर केयरका कर्मचारीले खाना रद्द गर्दा उनलाई थप चार्ज लाग्छ भन्दै उत्तर दिए, ‘जोमाटोमा हामी राइडरको आधारमा भेदभाव गर्दैनौं । मलाई आशा छ तपाईंले बुझ्नुभयो होला ।’

शुक्लाले त्यसपछि यस विषयमा आफ्नो वकिलहरुसँग कुरा गर्ने बताए ।

जोमाटोबाट त्यसपछि फेरि प्रतिक्रिया आयो, ‘खानाको कुनै धर्म हुँदैन । यो आफैमा धर्म हो ।’

त्यसपछि जोमाटोका संस्थापक दिपेन्दर गोयललले कम्पनीको अडानलाई जोड दिँदै ट्विट गरे, ‘हामी भारतको सोच र हाम्रो ग्राहकहरु तथा पार्टनरहरुको विविधतामा गर्व गर्छौं । हामी हाम्रो मुल्य र मान्यताहरुको बीचमा आउने व्यापार गुमाउँदा दुखित छैनौं । ’

एजेन्सीकाे सहयाेगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here