बुद्धले पुस १ देखि सुर्खेतमा ‘एटीआर-७२’ जहाजले उडान गर्ने

काठमाडौं । बुद्ध एयरले कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थमा एटीआर-७२ जहाजले उडान गर्ने भएको छ ।

हाल एटीआर-४२ जहाजबाट उडान गर्दै आएको बुद्धले पुस १ गते (डिसेम्बर १६) देखि ७२ सिटे जहाजबाट उडान भर्ने भएको हो । यात्रुको माग र सुविधालाई मध्येनजर गर्दै ठूला जहाजबाट उडान गर्न लागिएको कम्पनीले जनाएको छ ।

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले गत कात्तिक अन्तिम साता सुर्खेत विमानस्थलमा एटीआर-७२ जहाजबाट परीक्षण उडान गरेको थियो । सो उडान सफल भएसँगै कम्पनीले अब नियमित रुपमा ठूलो जहाजबाट उडान गर्न लागेको हो ।

बुद्धले सार्वजनिक गरेको उडान तालिका अनुसार दैनिक बिहान १०:०० बजे काठमाडौंबाट सुर्खेत र सुर्खेतबाट ११:३५ बजे काठमाडौं फर्कने छ ।

ठूलो जहाजबाट उडान गर्ने भएसँगै भाडादर पनि सस्तिने कम्पनीले जनाएको छ । बुद्धले काठमाडौं–सुर्खेत रुटको न्यूनतम भाडादर ७ हजार रुपैयाँ तोकेको छ । अहिले सुर्खेतको भाडादर १५ हजार रुपैयाँसम्म रहेको छ ।

बुद्ध एयरले सन् २०१३ को फेब्रुअरी १ बाट बिचक्राफ्ट १९०० डी (१८ सिट) बाट सुर्खेत उडान सुरु गरेपश्चात् विगत ५ वर्षदेखि एटीआरआर ४२ (४७) जहाजबाट नियमित उडान सञ्चालन गर्दै आएको छ ।

सुर्खेत विमानस्थलमा ठूला जहाजमार्फत हुने उडानले कर्णाली प्रदेशको समग्र पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here