निर्वाचनको अन्तिम नतिजा घोषणा: संघ र प्रदेशमा कति दलले पाए मान्यता ?

काठमाडौं । निर्वाचन आयोगले आज मिति २०७९ मंसिर २८ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगमा आयोजित पत्रकार भेटघाटमा आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन पेश गरिने बताए ।

साथै आगामी पौष २ गते प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका माननीय प्रदेश प्रमुखज्यूहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी प्रमुख आयुक्त थपलियाले दिए ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० र र प्रदेशसभा २२० गरी ३३० सदस्य निर्वाचित भएको घोषणा गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका दलहरूलाई निर्वाचित हुने उम्मेदवारहहरूको नामावली निर्वाचन कानुन बमोजिम क्लस्टर मिलाएर पठाउन आयोगले गत शुक्रबार पत्राचार गरेको थियो ।

यसैगरी आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित हुनुभएको छ भने प्रदेश सभातर्फ पुरुष ३५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार प्रदेश नं. १ मा ६, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष २ हजार १८६ गरी २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १८७ र पुरुष १ हजार १२ गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

त्यसैगरी प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २८०, पुरुष २ हजार ९४३ र अन्य १ गरी ३ हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार ५११ र पुरुष २ हजार १९७ गरी कुल ३ हजार ७०८ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here