धरानमा चर्किँदो विवाद, हर्क साम्पाङको चेतावनी-‘भनेको नमान्ने कार्यपालिका सदस्यले राजीनामा दिनू’

काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवादले उग्ररुप लिँदै गएको छ।

विवाद बढ्दै जाँदा मेयर साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन सुझाव दिएका हुन् । एक महिनादेखि धरानमा कार्यपालिका बैठक बसेको छैन ।

तर गत वैशाखमा निर्वाचित भएयता कार्यपालिका बैठक बस्न नसकेको अवस्थामा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका थिए।

उनीहरुले धरान उपमहानगरपालिका परिसरमै गरेको पत्रकार सम्मेलनमा कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङ नै दोषी भएको बताए।

३ जना कार्यपालिका सदस्यले मेयर साम्पाङको पछिल्लो अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्दै दुर्व्यवहार भएको भन्दै कानून अनुसारको कारबाही गर्न माग गरेका छन् ।

उनीहरूले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले ‘मंसिर २७ गते आफ्नो फेसबुक वालमा ‘जोरी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भन्ने अभिव्यक्तिले दलित समुदाय माथि नै चोट गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुर्व्यवहार भएको’ उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here