कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार विज्ञप्ति जारी गरी भ्रष्टाचारको मुद्दा किनारा नलागेकाले सांसद गुरुङ स्वतः निलम्बनमा परेको जनाएका छन्।

गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभाका सदस्य गुरुङमाथिको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने विज्ञप्तिमा उल्लेख छ। यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको शपथ भने लिएका थिए।

गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको थियो।

सुशील कोइराला सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री रहेका गुरुङमाथि काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ। अख्तियारले उनीमाथि २०७५ माघमा मुद्दा दायर गरेको थियो। मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ले भ्रष्टाचार अभियोग लागेका व्यक्तिको पद स्वतः निलम्बन हुने व्यवस्था गरेअनुरूप अदालतमा गुरुङमाथि भ्रष्टाचार मुद्दा विचाराधीन रहेको भन्दै अख्तियारले संसदीय गतिविधिमा सहभागी नगराउन आग्रह गर्दै संसद सचिवालयलाई पत्राचार गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here