सत्ता गठबन्धनको संयोजकमा ओली, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने

काठमाडौं, १४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता साझेदार दलको संयोजकमा चयन भएका छन् ।

बिहीवार बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजकमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिए ।

प्रत्येक दलबाट उक्त समितिमा १-१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री लामिछानेले जानकारी दिए । ‘सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ । यसका लागि हामीले संयोजक तोकेका हौँ,’ लामिछाने भने ।

उनका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डलगायत विषयमा छलफल भएको थियो । तर, त्यसबारेमा कुनै निर्णय नभएको उनले बताए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले न्यूनतम साझा कार्यक्रम आएपछि आफूहरू सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय लिने बताएका थिए ।

१० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ । जसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here