प्रदेश– १ मा सरकार गठनका लागि ८ दिनको समय, कांग्रेस प्रतिपक्षमै निश्चित

काठमाडौं । प्रदेश १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई ८ दिनको समय दिइएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार गठनका लागि २४ गतेसम्मको समय दिएका हुन् ।

खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतका साथ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका छन्।

संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश १ मा कुनै पनि दललाई बहुमत प्राप्त हुन नसकेकाले उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

‘मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/२४ गते आइतबार बेलुकी ५:०० बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान भएको छ’, खापुङले भनेका छन्।

९३ सदस्यीय यस प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ । प्रदेश- १ मा ४० स्थान प्राप्त गर्दै नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ २५ स्थानमा जितेको एमालेले समानुपातिकमा १५ सिट प्राप्त गरेको छ ।

कांग्रेस २९ माओवादी केन्द्र १३, एकीकृत समाजवादी पार्टीको ४, जनता समाजवादी पार्टीको १ र राप्रपाको ६ सिट छ। एकल बहुमतको सरकार निर्माणको लागि ४७ सिट संख्या आवश्यक पर्छ। प्रदेश एकमा सरकार निर्माणको लागि प्रष्ट बहुमत पुग्ने अवस्था छैन।

तर केन्द्रमा फेरिएको समीकरण अनुसार एमाले र माओवादी मिलेमापनि सुविधासहितको सरकार गठन हुने अवस्था छ। कांग्रेस र एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here