औद्योगिक कर्जा ९ खर्ब ६५ अर्ब, त्यसको ५८ प्रतिशत काठमाडौं क्षेत्रमा

काठमाडौं १९, साउन । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा ९ खर्ब ६६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको तुलनामा यो करिब १७ प्रतिशतले बढी हो ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा १२.८ प्रतिशतले वृद्धि भएको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको अंश ३५.८ प्रतिशत रहेको छ । राष्ट्र बैंकले केही साता अघि सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनमा यस्तो उल्लेख छ ।

कुल औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ४३.९ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा सबैभन्दा कम निर्माण क्षेत्रमा १०.६ प्रतिशतले वृद्धि भएको तथ्यांक छ ।

उत्पादन सम्बन्धी उद्योगमा २१.३ प्रतिशत, विद्युत, ग्याँस र पानी सम्बन्धी उद्योगमा १६.१ प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा १८.४ प्रतिशत र पर्यटन उद्योग/सेवा सम्बन्धी उद्योगमा १४.८ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको छ ।

कुल औद्योगिक कर्जामध्ये उत्पादन सम्बन्धी क्षेत्रमा ४७.४ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २७ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा १०.४ प्रतिशत, पर्यटन उद्योगमा १० प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा ४.० प्रतिशत एवम् खानी सम्बन्धी उद्योगमा १.२ प्रतिशत अंश रहेको देखिन्छ ।

कुल औद्योगिक कर्जामध्ये काठमाडांै क्षेत्रको अंश ५८.३ प्रतिशत, विराटनगर क्षेत्रको अंश ११.४ प्रतिशत, जनकपुर क्षेत्रको अंश १.८ प्रतिशत, वीरगञ्ज क्षेत्रको अंश १०.६ प्रतिशत, पोखरा क्षेत्रको अंश ५.७ प्रतिशत, सिद्धार्थनगर क्षेत्रको अंश ७.३ प्रतिशत, नेपालगञ्ज क्षेत्रको अंश ३.१ प्रतिशत र धनगढी क्षेत्रको अंश १.८ प्रतिशत छ ।

अधिकांश बैंक तथा वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडांैंमा रहेको र ठूलो परिमाणको कर्जा स्वीकृतिको अधिकार केन्द्रीय कार्यालयमा रहने भएकाले काठमाडांै क्षेत्रको औद्योगिक कर्जा प्रवाहको अंश उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here