प्रचण्डको जवाफ-‘संसद् विघटन सही थियो वा थिएन अहिलेको विषय होइन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सही थियो वा थिएन भन्ने कुरा अहिलेको सत्ता साझेदार दलको विषय नभएको बताएका छन् ।

विश्वासको मतको प्रस्तावमाथि उठेको प्रश्नमा उनले भने, ‘हिजो संसद् विघटन गर्नु सही थियो/थिएन अहिले सत्ता साझेदारभित्रको विषय होइन । हामी सबैलाई थाहा भएकै कुरा हो ।’

उनले संविधानको कार्यान्वयन गर्नेदेखि सबै विषयमा सत्ता साझेदार दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएको र आफूलाई त्यसबाट दायाबायाँ हुने कुनै पनि छुट नरहेको समेत स्पष्ट पारे।

ओलीले संसद् विघटन सही थियो भनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विघटनबारे गठबन्धनको धारण के हो भन्दै सोधेका थिए ।

उनले संविधान बनाउँदा विगतका विघटनको अनुभव गरिएको बताए । उनले अन्तिम समयसम्म संविधानको रक्षा गर्ने बताए । उनले भने, ‘हामी सत्ता साझेदार दलहरु भित्र पनि कयौं विषयहरुमा मतभेदहरु छन्। हिजो थिए। आज पनि छन्। सत्ता साझेदार भन्दा बाहिरका दलहरुसँग हिजो सहमती थियो, आज पनि छन्।

त्यसकारण मैले आज संविधानको कुरा जसरी उठ्यो। हामी सबैलाई थाहा भएको कुरा हो। संविधान राष्ट्रको मूल कानुन हो। २०७२ को संविधान हामीले निकै अप्ठ्यारा र जटिलताहरुको बीचमा अहिले भएका प्रमुख राजनीतिक दलहरुको सहकार्य र सहमतीकै आधार बनाइएको हो। र, यो संविधान कार्यान्वयन गर्ने कुराप्रति हाम्रो गम्भिरता, हाम्रो प्रतिवद्धता कायम छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here