गण्डकी प्रदेशको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशसभाको सभामुखमा कृष्ण धिताल निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका धिताल सभामुखमा निर्वाचित भएका हुन् ।

गठबन्धनका उमेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङेको मत पनि उनले पाए । नेपाली कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उमेदवार बनाएको थियो । उनले २६ मत प्राप्त गरिन् ।

एमालेबाट निर्वाचित प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले वरिष्ठताको आधारमा सभामुखको भूमिका निर्वाह गरेकाले उनी मतदानमा सहभागी भएनन् । नेपाली कांग्रेसका एक सांसद भने अनुपस्थित रहे ।

सभामुखमा निर्वाचित धिताल गत मङ्सिर ४ गते भएको निर्वाचनमा गोरखा क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्जसमेत हुन् ।

सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा नेकपा(एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो । सोहीअनुसार नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here