सांसद पक्राउ सम्बन्धमा गृहमन्त्रीको घुमाउरो जवाफ, भने-‘विधि र पद्धतिबाहिर जाँदैनौं’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् ।

बिहीबार सभामुख चयनका लागि भएको प्रतिनिधिसभाको बैठकमा सांसद देवराज घिमिरेको पक्षमा मत माग्दै उनले यस्तो बताएका हुन्। बैठकको सुरुमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या आरोपी सांसद उपस्थित रहेको भन्दै पक्राउ गर्न माग गरेका थिए।

तर उनको कुराको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले दबाब नदिन भनेका हुन्।

‘माननीयज्यू (रामहरि खतिवडा) ले फरार रहेका मानिस संसदमा हुनुहुन्छ पक्राउ गर्नुस् भन्नुभयो। विधि र पद्धतिबाट बाहिर गएर गृहमन्त्रालय दायाँ बायाँ गर्दैन’, उनले भने, ‘प्रक्रियाबाट गृहमन्त्रालय बाहिर जाँदैन। कर्मचारी सरुवा बढुवामा पनि विधि बाहिर जान्न। गृहमन्त्रालय आफ्नो प्रतिवद्धतामा टसमस भएको छैन।’

महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी कोइली महतोमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी अभियोग छ। उनलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो।

गृहमन्त्री लामिछानेले पटक-पटक सांसद महतोलाई पक्राउ गरिने बताइरहेका छन् तर उनी पक्राउ भएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here