प्रधानमन्त्री ज्यू ! ‘कि सन्दीपलाई बधाई दिनुस्, कि यो प्रकरणमा पनि अदालत कुरौं’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को ध्यानाकर्षण गराएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवाको साथै बन्द प्रशिक्षणमा सहभागि भैसकेपछि खेलकुदमन्त्रीको समेत जिम्मेवारी लिएका प्रचण्ड र सरकार माैन रहेकाले उनले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

शर्माले ट्वीटमार्फत भनेका छन्, ‘खेलकुदमन्त्री पनि प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँदछु- कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउँ भन्नोस्। तर मौनता जिम्मेवार जवाफ हुन्न।’

उनले क्यानका अध्यक्षलाई समेत आफूले फोन गरेर खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन भनेर प्रश्न गरेको भनेर समेत लेखेका छन्।

बलात्कार आरोपमा पक्राउ परेर सशर्त धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट संघले बिहीबार मात्र राष्ट्रिय टिममा राखेको छ । यसको विरोध भइरहेको छ ।

नाबालिग बलात्कार आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको हो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि पुस २९ गते धरौटीमा रिहा भएका थिए ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।