भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उ्रक्त प्रदर्शनी आज यहाँ उद्घाटन गरेकी हुन् ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।

कार्यक्रममा ड्रोनबाट पुप्षवृष्टि समेत गरिएको थियो । क्यान इन्फोटेकमा २०० स्टलहरुको उपस्थिति रहेको छ । इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को अतिथिको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सह सचिव अनिल दत्त, विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्ट लगायतको उपस्थिती रहेको छ ।

माघ २५ गतेदेखि २८ गतेसम्म सूचना प्रविधिको क्षेत्रमा उदाउँदा प्रविधिबारे ४ वटा सेमिनार सञ्चालन हुने आयोजकले जनाएका छन् । क्यान महासंघका अध्यक्ष रणजीत पोदारले सरकारले स्वदेशी सफ्टवेयर उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए । मेलाले डिजिटल नेपाल निर्माणमा सहयोग पुर्याउने क्यान महासंघका महासचिव चिरिञ्जीवी अधिकारीले बताए । मेलालाई अनलाइनबाट पनि अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

माघ २५ देखि २८ गतेसम्म हरेक दिन आइसिटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यान महासङ्घले जनाएको छ । क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ ।

यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे तीन लाखजनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here