संवैधानिक बाध्यतामा विश्वासको मत लिँदै मुख्यमन्त्री रावल, सरकार जोगाउन धौंधौं

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज दिउँसो १ बजे विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लागेका हुन्।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत नदिने निर्णय गरिसकेको छ। उनमुक्ति पार्टीको यो निर्णयसँगै मुख्यमन्त्री रावल अप्ठेरोमा परेका छन्।

नागरिक उन्मुक्तिले प्रदेश सरकारलाई विश्वासको मत दिन टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई प्रमुख शर्त बनाएको थियो । तर, १० वर्ष अगाडि दोषी ठहर भएका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि उक्त पार्टी वर्तमान सरकारलाई विश्वास गर्ने अवस्थामा छैन ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिए नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकार ढल्ने लगभग पक्का छ । रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा विश्वासको मतका लागि मुख्यमन्त्री रावललाई कम्तिमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र एकजना स्वतन्त्र भने विपक्षमा छन् । कांग्रेसका १९ र एकीकृत समाजवादीका चाजना प्रदेशसभा सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here