‘आइसीसी विश्वकप लिग टू’मा नेपालको ऐतिहासिक जित

काठमाडौं । आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपाललाई जिताउन ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए । नेपालले लिग २ को सिरिजमा नै निकालेको यो पहिलो जित हो।

नामिबियाको बलिङमा रुबेन ट्रम्पलम्यानले सर्वाधिक तीन विकेट लिए । बर्नाद स्कोल्जले दुई विकेट लिँदा, ताङगेनी लुङ्गामेनी र पिकी या फ्रान्सले समान एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका लागि जेन ग्रिनले सर्वाधिक ७५ रनको अविजित इनिङ खेले । उनले छैटौँ विकेटका लागि पिकी या फ्रान्ससँग ९४ रनको साझेदारी गर्दै ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।

फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ३९ बलमा ४९ रन बनाएर आउट भए । सोमपाल कामीको बलमा रनआउट हुँदा फ्रान्स अर्धशतक बनाउन चुके ।

नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । नामिबियासँग तीन विकेट लिएसँगै सन्दीप लिग २ मा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी भएका छन् ।

उनले २३ खेलबाट ५१ विकेट लिएका छन् । त्यसबाहेक करण केसीले नेपालका लागि एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here