काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिएको छ। आज बिहान बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीको सोमबार बसेको सचिवालयको आकस्मिक बैठकले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै सरकारमाथिको समर्थन पनि फिर्ता लिएको छ ।
गएको पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्याएका थिए । त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो ।
तर, सहमतिविपरीत प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितको आठदलीय मोर्चा बनाए । अघिल्लो सचिवालय बैठकमा सरकारबाट नबाहिरिने निर्णय गरेको एमालेलाई प्रचण्डले झन् चिढ्याउँदै गएका थिए।
उनले हिजो परराष्ट्रमन्त्री डाक्टर विमला पौड्याल राईलाई स्वीट्जरल्याण्ड भ्रमण रोकेर पूर्व-कानुनमन्त्री गोविन्दप्रसाद कोइरालालाई पठाएका छन्।
बागबण्डामा एमालेले प्रदेश १, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको समेत नेतृत्व पाएको थियो। जसमा सुदूरपश्चिमको नेतृत्व विश्वासको मत नपाएसँगै एमालेले गुमाइसकेको छ भने अरू प्रदेशको नेतृत्व पनि संकटमा परिसकेको छ।