बाढीले तीन करोडको माछा नष्ट

सांकेतिक तस्वीर

काठमाडाैं, २४ साउन । असारको अन्तिम साता आएको बाढीबाट बारा जिल्लास्थित माछा सुपरजोनमा तीन करोड ३० लाख २४ हजार ७१३ रूपैयाँ मूल्य बराबरको माछा नष्ट भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम लागू भएको बारा जिल्लाको सिमौनगढ नगरपालिका, पचरौता नगरपालिका, आदर्शकोतवाल गाउँपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका तथा सुवर्ण गाउँपालिकाको विभिन्न वडामा रहेको माछापोखरीमा बाढीको पानी पस्दा सो मूल्य बराबरको माछा क्षति भएको वरिष्ठ कृषि अधिकृत गणेश मिश्रले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत माछा सुपरजोनका ८२ दशमलव १ हेक्टर क्षेत्रफल बाढीले कटान गरेको थियो । माछाको उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले सङ्घीय सरकारले आर्थिक वर्ष २०७३/०७४ सालदेखि यस जिल्लामा उक्त कार्यक्रम लागू गरेको हो ।

सो कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि दुई करोड रु ९३ लाख ८२ हजार बजेट विनियोजन गरेको छ । जसअन्तर्गत ४० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गर्नाका साथै साना सिँचाई लगायतका काम गरिने सो कार्यालयले जनाएको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here