विश्वकप लिग टु: नेपाल यूएईसँग ६८ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ६८ रनले पराजित भएको छ । २०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३१ ओभर ५ बलमा १३९ रन जोड्दा अलआउट भएको हो ।

नेपालका लागि कुशल मल्लले ६२, सन्दीप लामिछानेले अविजित २६ र आशिफ शेखले १७ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

यूएई पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो। ​उसका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरे।

रोहन मुस्तफाले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय पाली खेले भने आर्यन लाक्राले २८ रन बनाए। कप्तान सिपी रिजवानले २२ र वृत्य अरबिन्द १८ रन बनाएर आउट भए।

नेपालका लागि सन्दीप लामिछानेले बलिङ र ब्याटिङ दुवैमा गतिलो प्रदर्शन गरे पनि नेपालले खेल जित्न सकेन। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। करण केसी, कुशल मल्ल र आरिफ शेखले १/१ विकेट लिए।

नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच जितपछि पहिलो हार ब्यहोरेको हो। विश्वकप लिग-२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ। पाचौँ स्थानमा रहेको यूएईको ३० खेलबाट ३१ अंक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here