४८ खर्ब २८ अर्बको बिमा बजार, वित्तीय प्रणालीमा बिमाको अंश ५.३९ प्रतिशत

काठमाडौं २६, साउन । पछिल्लो समयमा बिमा व्यवसाय तिब्र रुपमा विस्तार भएको छ । यही कारण २ वर्ष अघिसम्म करिब १० प्रतिशत रहेको बिमा पहुँच गत असारसम्म १८ प्रतिशत छ ।

सन् २०१८ मा मुलुकको कुल वित्तीय प्रणालीको आकार कुल ४८ खर्ब २८ अर्ब रुपैयाँ छ । त्यसमा बिमा क्षेत्रको हिस्सा ५.३९ प्रतिशत छ । सन् २०१७ मा यस्तो हिस्सा ४.५४ प्रतिशत थियो ।

यस्तै, सन् २०१५ मा कुल वित्तीय प्रणालीमा बिमा क्षेत्रको हिस्सा ३.४ प्रतिशत रहेकोमा सन् २०१६ सम्म आइपुग्दा बढेर ४.४० प्रतिशत पुगेको सरकारी प्रतिवेदनमा उल्लेख छ ।

पछिल्ला पाँच वर्षमा अन्य क्षेत्रको तुलनामा बिमाको विस्तार तीव्र रहेकाले समग्र वित्तीय प्रणालीमा बिमा क्षेत्रको हिस्सा बढ्दै गएको प्रतिवेदनले देखाएको छ ।
मुलुकभर सञ्चालित बैंक तथा वित्तीय संस्था, सहकारी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा कम्पनी, पुनर्बिमा कम्पनी र सामूहिक लगानी कोष सबै जोडेर कुल वित्तीय प्रणालीको आकार गणना गरिन्छ । त्यही गणनाले बिमा क्षेत्रको विस्तार तिब्र रुपमा भएको देखिएको हो ।

सहकारी, नागरिक लगानी कोष, सञ्चय कोषलगायतले बैंक तथा वित्तीय संस्थामै निक्षेप राख्ने हो । यसकारण कुल ४८ खर्ब२८ अर्ब रुपैयाँ कुल वित्तीय प्रणालीको आकारमा दोहोरोपना पनि रहेको प्रतिवेदनले देखाएको छ ।

यस्तै, मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा बिमा क्षेत्रको योगदान करिब ३ प्रतिशत पुगेको बिमा समितिले जनाएको छ । २०७५ असारमा यस्तो योगदान २.०३ प्रतिशत रहेकामा ०७६ असारमा २.५ प्रतिशत पुगेको छ ।

यही क्रममा बिमा व्यवसाय विस्तार भइरहे आउँदो असारसम्म यस्तो योगदान ३ प्रतिशतसम्म पुग्ने बिमा समितिको दाबी छ । हाल मुलुकभर ४० वटा बिमा कम्पनी सञ्चालनमा छन् । जसमध्ये १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र एउटा पुनर्बिमा कम्पनी सञ्चालनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here