बाबुरामको स्पष्टीकरण- ‘जनयुद्धकालीन’ मुद्दा अदालतले हेर्ने होइन’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा‍. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनै नपाइने भन्ने आफ्नाे धारणा नरहेकाे प्रष्टीकरण दिएका छन् ।

यद्पि शान्ति सम्झाैताअनुसार जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नमिल्ने आफ्नाे भनाइ रहेकाे उनले प्रष्ट पारेका छन् ।

ट्वीटरमा सानाे स्पष्टीकरण भन्दै भट्टराईले लेखेका छन्, ‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन । मज्जाले पाइन्छ । म आफैँ प्रधानमन्त्री छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु । तर शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दा TRCले हेर्ने हो, नियमित अदालतले हैन । प्रधानमन्त्री प्रचण्डको हकमा पनि त्यही हो । आवेग हैन विवेकले काम गरौँ ।’

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश माग गर्दै पेस भएका दुई रिट दर्ता गर्न सर्वोच्चले गत फागुन १९ गते आदेश दिएको थियो।

प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए।

माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here