‘नेपाली खेलाडीको आत्मविश्वास र क्षमता अद्भुत छ’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाली खेलाडीहरुमा अद्भूत क्षमता रहेको बताएका छन्।

बिहीबार आईसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएईलाई हराउँदै विश्वकप छनोटमा पुगेपछि प्रशिक्षक देशाईले यस्तो बताएका हुन्।

उनले अहिले भएको टोलीमा धेरै खेलाडीमा अद्भूत क्षमता भएको र भविष्यमा उनीहरुले नेपाली क्रिकेटको लागि राम्रो गर्नसक्ने बताए।

देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा रहेको आत्मविश्वासका कारण जित निकाल्न सफल भएको बताए।

विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ। जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्ने छ। छनोटमा कुल १० टोली हुनेछन्।

विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन्।