पारस खड्का सम्मिलित एसिया लायन्सले जित्यो लेजेन्ड क्रिकेटको उपाधि

एजेन्सी । कतारमा भएको लिजेन्डस् क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित टिम एसियन लायन्सले उपाधि जितेको छ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनल खेलमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

रिटायर्ड भइसकेका पूर्व खेलाडीहरू सम्मिलित रहने लिजेन्डस लिगमा तीन टिमको सहभागिता रहेको थियो। जसमा नेपालका पूर्वकप्तान एसियन लायन्समा आवद्ध रहेका थिए।

सोमबार वर्ल्ड जायन्ट्सले दिएको १४८ रनको लक्ष्य एसियन लायन्सले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे। एसियनको जितमा ओपनरहरू ती‍लकरत्ने दिल्शान र उपुल थारंगाले अर्धशतकीय इनिङ खेले। उनीहरूबीचमा पहिलो विकेटका लागि ११५ रनको साझेदारी समेत भएको थियो।

दिल्शानले ४२ बलमा ५८ रन बनाए। उनले ८ चौका प्रहार गरेका थिए। अर्का ओपनर थारंगाले २८ बलमा ५७ रन बनाए। उनले ५ चौका तथा ३ छक्का प्रहार गरेका थिए।

त्यस्तै, मिस्बा उल हक तथा मोहम्मद हाफिज समान ९-९ रनमा अविजित रहे। जायन्ट्सका लागि मोन्टि पेनिसर,समित पटेल र ब्रेट लीले समान १-१ विकेट लिए

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। जायन्ट्सका लागि ज्याक कालिसले ५४ बलमा अविजित ७८ रनको अर्धशतकीय इनिङ खेले। उनले कालिसले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

त्यस्तै, रोस टेलरले ३३ बलमा ३२ रन बनाउँदा लिन्डल सिमोन्सले १७ रन बनाए। लायन्सका लागि अब्दुर रज्जाकले २ तथा थिसारा परेराले १ विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here