एसीसी प्रिमियर कप खेल्ने टोली घोषणा, नेपालको पहिलो खेल मलेसियासँग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा आगामी वैशाख ५ गतेदेखि नेपालमै हुने प्रतियोगिताका लागि बुधबार क्यानले २१ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको हो।

प्रारम्भिक टोलीमा कुशल भूर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), कमल सिह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल छन्।

एसियन क्रिकेट काउन्सिलको आयोजनामा वैशाख ५ गतेदेखि १८ गतेसम्म प्रमियर कप आयोजना हुँदैछ। प्रतियोगिताका खेलहरु काठमाडौंको कीर्तिपुर क्रिकेट मैदान र मुलपानी रंगशालामा हुनेछन्।

प्रतियोगितामा कुल १० देशका राष्ट्रिय टिम सहभागी छन्। समूह ‘ए’ मा घरेलु टोली नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन्। यस्तै, समूह ‘बी’ मा बहराइन, कुवेत ,सिंगापुर, हङकङ र युएई रहेका छन्।

नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग खेल्ने छ। नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग र वैशाख १४ गते कतारसँग खेल्नेछ।

यो प्रतियोगिताको शीर्ष टोली पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ। एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here