काठमाडौं । पेरिस महिला फुटबल ओलम्पिक एसियन छनोटमा नेपालको चुनौती पहिलो चरणबाटै समाप्त भएको छ ।
छनोटको समूह ‘सी’मा रहेको नेपाल शनिबार भियतनामसँग २–० ले पराजित भएसँगै पहिलो चरणबाटै बाहिरिएको हो ।
नेपाल भियतनामसँग समग्रमा ७–१ ले पराजित हुँदै छनोटबाट बाहिरिएको हो । नेपाल पहिलो खेलमा भियतनामसँग ५–१ ले पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भियतनामलाई जित दिलाउन दुवै गोल पाम हाइ येनले गरिन् । भियतनाम छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
ओलम्पिक छनोटमा नेपाल समुह सी मा रहेको थियो। नेपाल रहेको समुहमा प्यालेन्स्टाइन र अफगानिस्तान रहेपनि दुई टोलीले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र खेलेका हुन्।
यसअघि सन् २०१८ मा भएको टोकीयो ओलम्पिक छनोटमा नेपाल दोस्रो चरणसम्म प्रवेश गरेको थियो।