एसीसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारदेखि हुने एसिसी मेन्स प्रिमियर कपका लागि नेपाली टोली घोषणा गरेको छ।

घरेलु मैदानमा हुने प्रतियोगिताका लागि १४ सदस्यीय टिम सार्वजनिक गरेको हो ।

प्रतियोगिताका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले चार खेलाडीलाई वैकल्पिकमा राखेका छन् ।

रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोलीमा पछिल्लो पटक घरेलु मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

यस पटक अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा रहेका छन् । पछिल्लो पटक वैकल्पिक स्थान बनाएका श्याम (मौसम) ढकालको स्थानमा किशोर महतो आएका छन् ।

देव खनाल, कमल सिंह ऐरी र श्याम ढकाल प्राम्भिक टोलीम रहे पनि अन्तिम टोलीमा पर्न सकेनन् । वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल १० टिम सहभागी छन् । प्रतियोगितामा सहभागी टिमलाई एक समूहमा पाँच टोली रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

जसको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

एसिया कपको छनोट प्रतियोगिता समेत रहेको प्रिमियर कपको पहिलो खेलमा नेपालले ५ गते मलेसियासँग खेल्नेछ । वैशाख ८ गते ओमानसँग, ११ गते साउदी अरेबियासँग र १४ गते समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here