बालकोट पुगे प्रधानमन्त्री ‘प्रचण्ड’, सभामुख घिमिरे र देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

ओली तीन दिनयता भाइरल जरोका कारण घरमै आराम गरिरहेका छन्। सोमबार बिहान उनीहरू ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।

अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकहरू संसद्मा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र सभापति देउवा बालकोट गएका हुन् ।

उनीहरूसँगै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुगेका छन् ।

दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतवार बिहान पनि बालकोटमा बैठक बोलाइएको थियो। तर प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here