तनहुँमा सर्वेन्द्र खनालले पाएनन् एमाले कमिटीकै मत

काठमाडौं । उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले तुलनात्मक रूपमा नेकपा (एमाले) को धेरै मत लगेका छन्।

जारी मतगणनाका क्रममा एमालेकै नेताहरुले पार्टी कमिटीकै सदस्यहरुको मत सर्वेन्द्रलाई नआएको प्रतिक्रिया दिएका छन्। दुई महिने ग्रासरुट अभियान भर्खरै सम्पन्न गरेको एमालेले संगठनलाई बलियो बनाएको दाबी गरेको थियो।

अहिलेसम्मको मतगणनाबाट आएको परिणामलाई आधार मान्ने हो भने वाग्लेले यसअघि एमालेलाई मत दिएका धेरै मतदाताको मत यसपालि आफूतिर तानेका छन्।

मंसिरको निर्वाचनमा एमालेले झन्डै २० हजार ल्याएको थियो। त्यतिबेला एमाले उम्मेदवार एकबहादुर रानाले सदर मतको झन्डै ३२ प्रतिशत मत पाएका थिए भने अहिले खनालले १५ प्रतिशत मत मात्र पाइरहेका छन्।

त्यतिबेला कांग्रेस र एमालेबीचको मतान्तर कम थियो। त्यतिबेला कांग्रेसका रामचन्द्र पौडेलले २५३६१ मत पाएका थिए भने एमालेका रानाले १९९८१ मत पाएका थिए।

अहिले एमालेका सर्वेन्द्र खनालले कांग्रेसका गोविन्द भट्टराईभन्दा झन्डै आधामात्र मत ल्याएका छन्। प्राप्त पछिल्लो मत परिणामअनुसार भट्टराईले ५ हजार मत ल्याउँदा खनालले झन्डै २८ सय मत पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here