एसीसी प्रिमियर कप : यूएई सेमिफाइनलमा, बहराइन बाहिरियो

काठमाडौं । एसीसी प्रिमियर कपको समूह ‘बी’ खेलमा बहराइनविरुद्ध आठ विकेटको सहज जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (यूएई) सेमिफाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनले प्रस्तुत गरेको ११७ रनको लक्ष्य यूएईले २७.४ ओभरमा दुई विकेट गुमाएर भेटायो ।

यूएईका वृत्य अरविन्दले नटआउट ६२ र राेहन मुस्तफाले नटआउट ५० रन बनाए । बहराइनका अब्दुल मजिदले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे बहराइन ४० ओभर ५ बलमा १ सय १६ रन बनाउँदा अलआउट भयाे । बहराइनका कप्तान हैदर बट र अली दउदले समान २३ रन बनाए ।

यूएईका आयन अफजल खानले ४ विकेट लिँदा राेहन मुस्तफा र कार्तिक मय्यप्पनले २/२ विकेट लिए ।

यूएईसँगको हारले भने बहराइन प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । जितसँगै यूएई सेमिफाइनलमा प्रवेश गरे पनि समूह ‘बी’ विजेता र उपविजेताको टुंगो भने लागिसकेको छैन ।

भोलि (बिहीबार) हुने हङकङ र कुवेतबीचको खेलपछि यो समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here