ओमान सेमिफाइनलमा, साउदी बाहिरियो

काठमाडौं । साउदी अरेबियाविरुद्ध ७२ रनको जित निकाल्दै ओमान एसीसी प्रिमियर कपको समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गर्ने दोस्रो टिम बनेको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रनको उच्च स्कोर तयार गरेको थियो।

जवाफमा राम्रो सुरुवात गरेको साउदी ४६.५ ओभरमा अलआउट हुँदै २ सय ९४ रनमा समेटियो। यो समूहबाट अन्तिम खेल खेल्न बाँकी रहे पनि नेपालले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो । यद्यपि, भोलि (बिहीबार) हुने नेपाल र कतारबीचको खेलपछि मात्रै समूह ‘ए’ को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

साउदीका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ९५ रन बनाउँदा साद खानले ७८ रनको इनिङ खेलेका थिए। त्यस्तै कप्तान हिसहाम सेखले ३६ रन बनाउँदा अब्दुल वाहिदले २५ रन बनाएका थिए। त्यस्तै इम्रान आरिफले १० रन बनाउँदा अतिफ उर रेहमानले १६ रनको अविजित इनिङ खेले।

त्यसअघि पहिले ब्याटिङ गरेको ओमानका लागि पाँच खेलाडीले अर्धशतकीय इनिङ खेलेका थिए। जतिन्दर सिंहले ८८ रन बनाउँदा मोहम्मद नदिमले ७१ रनको नटआउट इनिङ खेले। त्यस्तै ओपनर काश्यप प्रजापतिले ५१ रन बनाउँदा कप्तान जेसन मसुदले ५४ रन बनाए। प्रजापति र सिंहले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here