ओलीको अभिव्यक्तिबारे पूर्वराजाको सचिवालयले भन्यो- ‘भ्रमजालबाट मुक्त हुनोस्’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न भनेर चूनौति दिएको भोलिपल्टै शाहको सम्वादको सचिवालयले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

ओलीले पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेकाले पुरानो हिसाब किताब धेरै रहेको तर आफूहरुले नगरेर त्यसै छाडेको भन्दै कटाक्ष गरेका थिए ।

झापामा आफूमाथि आक्रमण प्रयास हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको ओलीको दाबी थियो । पूर्वराजा शाहको सचिवालयले यसअघि नै राजपरिवारका सदस्यले सामाजिक सञ्जाल नचलाउने स्पष्ट पारिसकेको दोहोर्‍याएको छ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीका नाममा फेसबुक र ट्विटरमा विभिन्न फेक अकाउन्टहरू सक्रिय छन्।

पूर्वराजा शाहको सम्वाद सचिवालयले भने आज सूचना नै जारी गरेको छ । सूचनामा भनिएको छ–‘श्री ५ महाराजाधिराज सरकार, श्री ५ बडामहारानी सरकार तथा श्री ५ युवराज्ञी सरकारबाट कुनैपनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा पुनः जानकारी गराईन्छ ।

यस्तो निाराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध गरिन्छ । यस सम्बन्धमा यस सचिबालयबाट मिति २०७८।०।२३ मा समेत खण्डन भइसकेको जानकारी गराईन्छ । मिति २०८० साल बैशाख १५ गते ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here