काठमाडौं महानगरले आजदेखि अव्यवस्थित तार काट्ने, तोकियो १३ वटा रुट

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु राजी भएका छन् ।

महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।

सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाइने छ । प्राधिकरणले माइतीघरदेखि विमानस्थलसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म, न्युरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्म रूट तय गरिएको छ।

त्यस्तै माइतीघर, पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली, नारायणहिटी, कमलादी हुँदै रानीपोखरीसम्मको तार व्यवस्थापन गरिने भएको छ।

डिल्लीबजार, अनामनगर हुँदै संघीय संसद् भवन वरपर, नक्साल, बालुवाटार हुँदै शीतल निवाससम्मको पनि तार व्यवस्थापन गरिने छ। माइतीघर, त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर, अमृत साइन्स क्याम्पस, रानीबारी हुँदै सामाखुसीसम्म अर्को रुट तय गरिएको छ।

सोह्रखुट्टे, ढल्को, ताहाचल हुँदै स्वयम्भू, सिनामंगल, पुरानो बानेश्वर हुँदै गौशाला, गौशाला, बौद्धनाथ, कालीमाटी, कुलेश्वर हुँदै बल्खुसम्मको तार व्यवस्थापन गरिने दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।

यसमा नेपाल विद्युत प्राधिकरण, दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन्।

ती क्षेत्रमा सेवा प्रदायकले आ–आफ्नो तारमा संकेत चिन्ह लगाउने, चिन्ह नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने बैठकले गरेको अर्को महत्वपूर्ण निर्णय हो।

महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिंदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरपालिकासहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । त्यसपछि महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here