अब कर्जाको ब्याजदर हरेक महिना परिवर्तन गर्नुपर्ने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर पनि महिनैपिच्छे परिवर्तन गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै कर्जाको ब्याजदर हरेक महिना परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो ।

हाल ३/३ महिनामा मात्रै कर्जाको ब्याजदर परिवर्तन हुने व्यवस्था रहेकोमा अब महिनैपिच्छे परिवर्तन हुने भएको छ । राष्ट्र बैंकले पछिल्लो तीन महिनाको आधार दरअनुसार मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

पछिल्लो महिनाहरुमा लगातार निक्षेपको ब्याजदर घट्दै आएको छ । सोही अनुसार आधारदर समेत घटेकाले अब बैंकहरुले जेठदेखि नै कर्जाको ब्याजदर घटाउन पाउने भएका छन् ।

यस्तै, राष्ट्र बैंकले पछिल्लो ३ महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन पाइने व्यवस्था पनि गरिएको छ । जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँग सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here