चन्द्रगिरि हिल्सको वित्तीय अवस्थामा उल्लेख्य सुधार

काठमाडौं । चन्द्रगिरि हिल्स प्रालिको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको छ । विगतका वर्षहरुमा घाटामा संचालन हुँदै आएको कम्पनी चालु वर्षदेखि निरन्तर नाफामा जान थालेको हो ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत वर्ष सोही अवधिमा कम्पनी १ करोड ५८ लाख रुपैयाँ नोक्सानीमा थियो ।

पछिल्लो समय पर्यटकीय गतिविधि बढ्न थालेसँगै कम्पनीको आम्दानी बढ्दा नाफामा जान थालेको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ४१.६६ प्रतिशतले बढेर ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ । यस्तै, अन्य आम्दानी ५१.०२ प्रतिशतले बढेर ४४ लाख रुपैयाँ पुगेको छ ।

हाल १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ३० करोड ७८ लाख रुपैयाँ ऋणात्मक छ ।

नाफामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । गत वर्ष १.३४ रुपैयाँ ऋणात्मक भएको कम्पनीको प्रतिसेयर आम्दानी चालु वर्षमा ५.०७ रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ७९.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२७.१७ गुणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here