लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र, अवैध टिकट काउन्टर हटाइने

काठमाडौं । काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । यसपछि नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न पाइने छैन ।

काठमाडौंमा दैनिक करिब ७ सय संख्यामा सवारी साधन प्रवेश गर्छन् । यही संख्यामा बाहिरिन्छन् । नयाँ बसपार्कको ७५० वटा सवारी साधन व्यवस्थापनका गर्ने क्षमता छ ।

बस पार्कमा लगाइने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको सदस्यमा महानगर प्रहरी बलका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपत्यका, ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, ल्होत्से बहुउद्देश्यीय प्रा. लि. र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि सदस्य छन् ।

बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निर्णय गरेको छ । अहिले गौशाला, चावहिल, सुन्धारालगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारी साधनका टिकट काउन्टर छन् ।

बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौँ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अरनिको यातायात, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत साझेदार कार्यालय तथा संघ संस्थाका प्रतिनिधि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here