बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको जमानी बस्दा सचेत हुन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको जमानी बस्दा सचेत हुन आग्रह गरेको छ ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ऋणको जमानी बस्दा कानुनी व्यवस्था बुझेर र भविष्यमा आइपर्ने आफ्नो दायित्व बुझेर मात्र जमानी बस्न भनेको हो ।

वास्तविक ऋणीले समयमै ऋण तिर्न नसकेको अवस्थामा बैंकले जमानीकर्ताले दिएको धितोबाट पनि ऋण असुलीउपर हुने भएकाले जमानी बस्दा सचेत हुन आग्रह गरेको हो ।

‘कुनै कर्जाको लागि जमानी दिँदा सजग भई कर्जा रकम, प्रयोजन, जोखिम, प्रमुख धितोहरू, ऋणीसँगको सम्बन्ध र विश्वसनीयता, कर्जा सम्बन्धी सर्त एवम् जमानीसम्बन्धी कानुनी व्यवस्था र भविष्यमा आइपर्नसक्ने आफ्नो दायित्व प्रष्ट बुझेर मात्र जमानी दिनुपर्दछ,’ राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी गरेको सूचनामा भनेको छ ।

राष्ट्र बैंक ऐन, २०५८ अनुसार कर्जा ‘चुक्ता गर्न जारी गरेको जमानी’ समेतलाई कर्जाको परिभाषामा समेटेको छ । सो अनुसार कसैले जमानी दिएको छ भने कर्जा लिएको हैन भनेर कर्जाको दायित्वबाट मुक्त हुन नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here