‘शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था देख्दिनँ’

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धन फेरबदल नहुने बताएको छ।

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताएका हुन्।

‘नक्कली शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था म देख्दिनँ’, उनले भने, ‘यही प्रकरणले सत्ता गठबन्धन तलमाथि हुने सम्भावना छैन। म त्यस्तो देख्दिनँ।’

उनले पार्टीका नेता बालकृष्ण खाँणमाथि पनि अनुसन्धान जारी रहेको र कांग्रेस निष्कर्षको पर्खाइमा रहेको जिकिर गरे । खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको उनको भनाइ छ ।

महतले आरजु राणाको नाममा आएको अडियो झूठो हुनसक्ने भन्दै यस बिषयमा सत्य तथ्य छिटो बाहिर आउनुपर्ने धारणा राखे । नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका बिषयमा पार्टीभित्र कुनै मतभेद नभएको भन्दै महतले राज्यले गर्ने अनुसन्धान र निष्कर्षलाई स्वीकार गर्ने उल्लेख गरे।

सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here