भाउ बढेपछि सुनको व्यापार ठप्प, व्यावसायी भन्छन्ः तत्काल घट्ने संकेत छैन

-जितेन्द्र खनाल

काठमाडौं, २ भदौ । केही समययता अस्वाभाविक रुपमा सुनको मूल्य वृद्धि भएसँगै बजारमा सुनको व्यापार लगभग ठप्प जस्तै भएको छ ।

प्राय भरिभराउ देखिने न्यूरोडका सुन पसलहरु अहिले सुनसान छन् । सोमबार बिहान ११ बजेतिर न्यूरोडका केही सुनचाँदी पसल चहार्दा व्यावसायीहरु फुर्सदिला देखिन्थे ।

गत शुक्रवार र शनिवार नेपाली बजारमा इतिहासकै सबैभन्दा महङ्गो मूल्य अर्थात ७१ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आइतवार ५ सय रुपैयाँ घट्दै ७१ हजारमा कारोबार भयो । साेमबार पनि ७१ हजारमै काराेबार भयाे ।

विगत दुई सातायतामात्रै सुनको मूल्यमा साँढे ६ हजार रुपैयाँले वृद्धि भएको छ भने दुई महिनायता प्रतितोला १० हजार रुपैयाँले मूल्यवृद्धि भएको देखिन्छ ।

किन बढ्यो त सुनको भाउ ?

चाडवाडको समयमा यसरी अस्वाभाविक रुपमा सुनको मूल्यमा वृद्धि हुँदा व्यापारमा निकै असर पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघका अध्यक्ष मोहन सुनार बताउँछन् ।

यसका साथै भारतमा कस्मीर विवादको कारण भारतिय मुद्रा कमजोर देखिएको छ यसको प्रत्यक्ष प्रभाव नेपाली मुद्रामा पनि परेको कारण डलरको तुलनामा भारत तथा नेपालको मुद्रा कमजोर देखिएकोले सुनको मूल्यमा वृद्धि भएको हो ।

अमेरिका र चीन व्यापार युद्धको कारण पनि सुनको मूल्यमा वृद्धि भएको देखिन्छ । त्यस्तै काश्मिर विवादको कारण भारतीय मुद्रा कमजोर भएकाले पनि सुनको भाउ बढेको बताइन्छ ।

महासंघका अध्यक्ष सुनार पनि अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेकोले सुनको भाउ बढेको बताउँछन् ।

उनी भन्छन्, ‘अमेरिका–चीनबीचको व्यापार युद्ध, इरान–अमेरिका विचको बिग्रदोँ सम्बन्ध र अन्तराष्ट्रिय सेयरबजारमा गिरावट जस्ता कारणले मानिसहरुले सुनमा लगानी गर्दा फाइदा हुने देखे र सुनको माग वृद्धि भयो जसले गर्दा भाउ बढ्यो ।’

त्यस्तै भारतीय मुद्राको तुलनामा अमेरिकी डलर बलियो भएकाले पनि सुनको मुल्य बढेको उनले बताए । भारतीय र नेपाली मुद्राको विनिमय दर स्थीर हुने हुनाले यसले नेपालमा पनि प्रत्यक्ष असर गर्छ ।

सुनको मुल्य अझै बढ्ला त भन्ने प्रश्नमा उनले भने, मुल्य अझै बढ्ला वा नबढ्ला यसै भन्न सकिँदैन तर तत्कालै घट्ने भने कुनै संकेत देखिएको छैन ।’

चाडपर्वको मुखैमा भाउ बढ्दा व्यापार ठप्प

हिन्दू नारीहरुको महान चाड हरीतालिका तिजलाई नेपाली बजारमा सबैभन्दा धेरै सुन व्यापार हुने चाडको रुपमा हेरिन्छ । यो समयमा सुनको मूल्यमा अस्वभाविक मुल्य वृद्धि हुँदा व्यवसायीहरु निराश छन् ।

न्यूरोडमा अर्जुन ज्वेलर्स चलाउँदै आएका व्यवसायी अर्जुन शाह सुनको मूल्य अत्यधिक बढेसँगै आफ्नो पसलमा सुनको बिक्री ७० देखि ८० प्रतिशतसम्म व्यापार घटेको बताउँछन् ।

‘सुनको मूल्य वृद्धि हुँदा व्यापार कम हुनु स्वभाविक हो तर यतिधेरै प्रभाव पर्ला जस्तो लागेको थिएन,’ शाहले भने, ‘किन्ने मान्छेभन्दा बेच्ने मान्छे धेरै आँउछन् । थोरै मूल्यमा किनेको सुन अहिले बेच्दा नाफा हुने लोभमा धेरै मानिसहरु सुन बेच्न आउन थालेका छन् ।’

त्यस्तै कलंकी स्थित आस्रिना ज्वेलर्सका सुनचाँदी व्यवसायी अनमोल पण्डित सुनको मूल्यमा वृद्धि भएको कारण सुनको व्यापारमा ठुलो असर परेको बताउछन् ।
‘सुनको मूल्यमा भएको अस्वभाविक मूल्य वृद्धिको कारण व्यापार लभगभ शुन्य जस्तै भएको छ,’ पण्डित भन्छन् ‘अहिले दिनमा १÷२ तोला व्यापार गर्न पनि मुस्किल छ, यो पनि पुरानो गहनाबाट नयाँ गहना बनाउनको लागि आउने गर्छन् ।’

पर्ख र हेरको रणनीतिमा व्यावसायी

धेरैजसो व्यावसायीहरु पर्ख र हेरको अवस्थामा छन् । मुल्य केही घटेपछि व्यापार पहिलेजस्तै गुल्जार हुनेमा उनीहरु आशावादी छन् तर बजार थामिने वा घट्ने कुनै संकेत देखिएको छैन उल्टै बढ्ला कि भन्ने तनाव छ ।

केही व्यापारीहरु भने सुन व्यापार नभएको प्रसंग सामान्य कुरा भएको बताउछँन् । न्यूरोडकै समृद्धि ज्वेलर्सका अर्का सुन व्यवसायी रोहित संग्रौला व्यापार कम हुनु सामान्य कुरा हो भन्छन् ।

‘व्यापार कम भएको प्रसंग सामान्य कुृरा हो,’ संग्रौलाले भने, ‘सुनको मूल्यमा यति धेरै मूल्य भएको यस्तो अवस्थामा कसले किन्छ सुन ?’

वर्तमान समयमा अत्ति आवश्यक पर्ने मानिसहरु बाहेक अनय मानिसहरुले सुन नकिन्ने कुरा व्यवसायीहरु बताउँछन् ।

विवाह, इङ्गेजमेन्ट तथा यस्तै प्रकारका अतिआवश्यक पर्ने अवस्था बाहेक सामान्य अवस्थामा मानिसहरुले सुन किनेका छैनन् ।

यस्तो अवस्था अझै केही दिन चलिरहेमा वा तीज र दशैं जस्तो चाडमा पनि सुनको भाउ नघटेमा भने व्यावसाय चौपट हुने व्यावसायीहरुको चिन्ता छ ।

अन्तराष्ट्रिय बजारमा कति छ सुनको मूल्य ?

अमेरिकामा वर्तमान समयमा छापावल सुनको मूल्य प्रति १० ग्राम ४८५ डलर रहेको छ । त्यस्तै प्रतितोला ५ सय ६५.९१ डलर कायम गरीएको छ ।

त्यस्तै, छिमेकी मुलुक भारतमा छापावल सुनको मूल्य प्रति (१० ग्राम) ३७ हजार ५ सय ६० कायम गरेको छ । जुन नेपाली रुपैयाँमा प्रतितोला ७० हजार ९० रुपैयाँ आसपास हुन आउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here