टोपबहादुर-बालकृष्णसहितका आरोपीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो ।।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो ।

प्रहरीले उनीहरुविरुद्ध सङ्गठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । सङ्गठित अपराधमा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । सुरुमा पक्राउ परेका आरोपीहरू ५४ दिनदेखि हिरासतमा छन् । पछि पक्राउ परेकाहरूको पनि सुरुमा पक्राउ परेका आरोपीसँग म्याद मिलान हुन्छ ।

अनुसन्धान सुरु भएको ५४ औँ दिनमा १४ जनालाई नै प्रहरीले अदालतमा उपस्थित गराएको थियो । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउँछु भनेर ठगेको आरोप लागेका नेपाली कांग्रेसका पूर्व सभासद् आङ्टावा शेर्पाले सोमबार आत्मसमर्पण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here