अर्थ मन्त्रीको प्राथमिकताः स्वदेशमै अवसरको सिर्जना, व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको दाबी

`
काठमाडौं, ६ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशमै अवसरको सिर्जना आफ्नो प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा सनिबार छलफल गर्दै उनले स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नतिको ढोका बन्द गर्न नहुने बताएका हुन् ।

छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेको अर्थ मन्त्रालयले बताएको छ ।

सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले भनेका छन्, हामीले नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।

‘यहीँ उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा मूल्य अभिवृद्धि नै कम छ । जतिसक्दो बढी मूल्य अभिवृद्धि गर्ने कुरा नै हाम्रो प्राथमिकता हो,’ मन्त्री डा. महतले भने ।

बजेटमा व्यवसाय प्रवद्र्धनलाई प्राथमिकता

नेपाली उद्योग व्यवसायीलाई प्रवद्र्धन गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने र बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीति अंगीकार गरिने उनको भनाइ छ ।

‘ज्ञान र अनुभवलाई म उपयोग गर्छु । म ठूलो स्वरमा कुरा गर्दिन । सुधारको आवश्यकता छ, त्यसमा इमान्दारीका साथ काम गर्छु । तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिन । अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरु गरिनेछन् । धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिने छ,’ उनले भने ।

मन्त्री डा. महतका अनुसार बजेटको कार्यान्वयन मूल चुनौति हो । उनी भन्छन्, नौ महिनापछि स्रोत रिलिज गर्दिनुपर्यो, अब हामी ठेक्का लगाउँछौं भनेर आउँछन् । त्यसलाई मैले रोकिदिएको छु । नौ महिनासम्म के गरेर बस्यो ?

बजेटपछि लगत्तै असार मसान्तसम्मको काम छँदैछ, गृहकार्य तत्काल सुरु गछौं । यी कुराहरु यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौं । यसबारे गृहकार्य भइरहेको छ, उनले भने ।

‘यो भयो भने हाम्रो पूँजीगत खर्चको प्रभावकारिता बढ्छ । पूँजी प्रवाह बढ्छ, यसले आर्थिक वृद्धिदरलाई मद्दत गर्छ भन्ने विश्वास मैले लिएको छु । समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ ।’

उनले अगाडि भने, ‘अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौ । राजस्व घटेको स्थानमा मैले हेरिरहेको छु । ती कुरालाई हामी सुधार गर्छौ । यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन ।’

वैदेशिक ऋणको समीक्षा आवश्यक

यसका साथै वैदेशिक ऋणले नेपालको अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन भन्ने बारे समीक्षा हुन जरुरी रहेको र खर्च गर्ने क्षमता पनि देखाउन आवश्यक रहेको डा. महतको भनाइ छ ।

‘हाम्रो साउँ व्याज एकदमै बढ्दै गएको छ । भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन । ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौ भने साधारण र पूँजीगत खर्चमा दबाब सिर्जना हुन्छ । प्रशासनिक खर्चको सीमा छ, सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं । सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौं । यस बीचमा हामी ऋण भुक्तानीको दायित्वबाट हामी भाग्न सक्दैनौं,’ उनले भने ।

बैठकमा एमालेका सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गरेका थिए । अर्थ समितिको बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here