‘प्रधानमन्त्रीलाई लाग्ला सरकार राम्रो छ भनिदिए हुन्थ्यो, जनतामा निराशा छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले जनतालाई दुःख दिइरहेको बताएका छन् । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले यस्तो बताए ।

गठबन्धन देशको अर्थतन्त्र ध्वस्त बनाउन लागेको दाबी गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो । तर, तथ्यांकले अर्कै कुरा बोल्छ अनि कसरी राम्रो भनिदिने ? देश र जनतालाई दु:ख दिन र दुःखको कारण भएको छ अहिलेको गठबन्धन ।’

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अस्वभाविक गतिविधिहरु बढदा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर समेत गरे ।

उनले सरकार तलब, पेन्सन, सामाजिक सुरक्षा खर्च लगायतका अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थिति पुगेको दोहोर्‍याए ।

उनले भने, ‘सरकारप्रति जनताको अविश्वास वास्तवमा भन्नेहो भने अभूतपूर्व ढंगले यो विश्वास ह्रास भएको छ । अविश्वास बढेको छ अभूतपूर्व ढंगले । जनतामा निराशा छ । सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वभाविक गतिविधिहरु बढ्दा छन् ।

प्रमुख आर्थिक परिसूचकांकहरुले अर्थतन्त्र संकटापन्न भईसकेको देखाएका छन । सरकार राजस्व उठाउन असफल भइसकेको छ । राजस्वले चालू खर्च तलव, पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायत अनिवार्य खर्च व्यवस्थापनको दायित्वसम्म पनि गर्न नसक्ने स्थिति सरकार पुगेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here