आयात-निर्यात दुवै घट्यो, वैशाखसम्म व्यापार घाटा १२ खर्ब ४ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षमा १२ खर्ब रुपैयाँ बढीको व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको १० महिना (साउन-वैशाख)को तथ्यांक अनुसार व्यापार घाटा १२ अर्ब ४ अर्ब रुपैयाँ पुगेको छ ।

यद्यपि, गत वर्ष वैशाखको तुलनामा चालु आवमा व्यापार घाटा १५.८५ प्रतिशतले कम भएको हो । गत वर्ष वैशाखसम्म व्यापार घाटा १४ खर्ब ३१ अर्ब रहेको थियो ।

चालु आवमा सरकारले विदेशी वस्तु आयातमा गरेको कडाइका कारण व्यापार घाटामा सुधार आएको हो । सरकारले गत पुस १ देखि मात्रै गाडी, मोबाइल लगायत विलासी वस्तुको आयात प्रतिबन्ध खुलाएको थियो ।

वैशाख मसान्तसम्म कुल १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । जसमा १३ खर्ब ३५ अर्ब रुपैयाँको वस्तु आयात हुँदा १ खर्ब ३० अर्ब रुपैयाँको निर्यात भएको छ ।

समीक्षा अवधिमा आयात र निर्यात दुवै घटेको छ । आयात गत आवको यसै अवधिको तुलनामा १६.७८ प्रतिशत र निर्यात २४.४९ प्रतिशतले खुम्चिएको छ ।

सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातको नाममा रकम बाहिरिने गरेपनि यो पटक भने पेट्रोलियम पदार्थको आयात पनि घटेको छ । गत वर्षको यो अवधिमा ६ लाख १६ हजार लिटर पेट्रोलको आयात भएकोमा यस वर्ष ५ लाख ५९ हजार लिटर पेट्रोल आयात भएको छ ।

आयात निर्यात दुवै घट्दा सरकारले भन्सार विन्दुबाट उठाउने राजस्व समेत वैशाखमा पनि प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here