अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथनबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाको कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

भेटमा एमसीसी परियोजनाको कार्यान्वयन र सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने कार्यका बारेमा दुवै पक्षवीच विस्तृत छलफल भएको थियो ।

सो अवसरमा अर्थमन्त्री महतले एमसीसी आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भइ नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरेका थिए । आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुंग्याउने उनले प्रतिबद्धता जनाए ।

मन्त्री महतले एमसीसीको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसीसीका पदाधिकारीलाई नेपाल भ्रमण गरेकामा धन्यवाद ज्ञापन गरे ।

भेटका क्रममा उपाध्यक्ष ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्वतयारीमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको बुझिएको छ ।

एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीको बारेमा जानकारी लिन एमसीसीका पदाधिकारीको नेपाल भ्रमण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here