रविले सोधे – ‘राज्यकै निकायको विश्वास भएन, नाम आएकासँग सोधपुछ गर्न किन डराएको ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जस जसको नाम आएको छ छानबिनका लागि किन डराएको भन्दै प्रश्न गरेका छन् ।

संसद बैठकमा उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । उहाँहरूको मुटु देखेका छौँ । कहाँ गएर चेक गर्ने ? जजसको नाम आएको छ सोधपुछ गर्न किन डराएको ?’

उनले भने, ‘भ्रष्टाचारका विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आइरहेका थियौँ । तीन राजनीतिक दलहरु खुसुरखुसुर बसेको कुरालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका थियौँ ।

आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसले आरोप लाग्न बाँकी रहेको होस् । तीमात्र हैन राज्यका निकायहरुको नाम यसरी आइरहेको छ अनुसन्धान गर्ने अधिकारी, त्यसका प्रमुखहरुको नाम आइरहेको छ ।

यस्तो अवस्थामा यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन । दिउँसो, दिनदहाडै, दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वार्टरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएको यस्ता विषयहरु आइरहेका छन् र यहाँ मुछिएका मान्छेहरु हेर्नुहोस्, यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ?’

उनले कसैको पनि विश्वास गर्ने वातावरण नभएको भन्दै अगाडि भने, ‘यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ । जुन जुन निकायहरु यसमा लागिपरेका छन् कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले जस जसको नाम आएको छ तिनलाई छानबिनकोसम्म दायरामा ल्याउन नहुने, सोधपुछसम्म गर्न नहुने गरी किन डराएको हो ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ?’

संसद बैठक सुरू भएलगत्तै रास्वपाका सबै सांसदहरु कुर्सीबाट उठेका थिए । त्यसपछि सभामुखले प्रमुख सचेतकलाई पार्टीको भनाइ राख्न दुई मिनेट समय दिए । प्रमुख सचेतक सन्तोष परियाले पार्टीका तर्फबाट संसदीय दलका नेता रवि लामिछानेले बोल्ने बताए । त्यसपछि रविले आफ्नो भनाइ आक्रामकरुपमा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here