चन्द्र भण्डारीसँग भेटघाटका लागि विशेष व्यवस्था, ओलीले भने -‘निको हुनुभयो, खुशी लागेको छ’

काठमाडौं । नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरूले भेट गरेका छन् ।

सदनमा भण्डारीले आफ्नो कुरा राखेपछि सभामुखको कार्यकक्षमै सांसदहरुलाई भेटघाट व्यवस्था मिलाइएको थियो । सभामुख घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए ।

भेटमा भण्डारीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने ओलीलाई धन्यवाद ज्ञापन गरेको सभामुखको सचिवालयले जनाएको छ।

भण्डारीले ओलीलाई भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ। गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो। थ्याङ्क यू सो मच।’ आफूले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएको पनि भण्डारीले स्मरण गरेका छन्।

भेटमा एमाले अध्यक्ष ओलीले भण्डारीलाई भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो। निको भएर आएपछि भेट भयो। खुसी लागेको छ।’ भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न ध्यानाकर्षण गराएका छन्।

गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here