‘ठगी प्रकरणका आरोपी जोगाउन आइजीपीको संलग्नता छैन, विवादमा तान्न खोज्नु गलत’

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तकुमार कुँवरलाई जोडेर चर्चा गरिनु निन्दनीय भएको बताएको छ ।

बुधबार प्रहरी प्रवक्ता कुवेर कडायतद्धारा एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिले गरेको संवादकै आधारमा महानिरीक्षकलाई विवादमा तानिनु गलत भएको बताएको हो ।

कुनै आधार, तथ्य र प्रमाण विना अपराध अनुसन्धान जस्तो संवेदनशिल विषयमा सम्प्रेषण गरिएको समाचारलेजनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरू प्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ । कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ।

सचिवालयले नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाई आरोपीत भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद रहेको बताएको छ।

‘नेपाल प्रहरी सदैव संविधान, कानून र संगठनको आफ्नै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन, निर्दोष नफसुन भन्नेमा सचेत र प्रतिबद्द छ । अपराधी जोसुकै होस उसलाई बचाउन हैन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार, तथ्य प्रमाण बिना नै महानिरीक्षकलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here