‘डिजिटल युगमा गोप्य रहँदो रहेनछ, हर्क साम्पाङप्रति वैरभाव राख्नुपर्ने कारण छैन’

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई ‘बौलाहा मेयर’ भनेपछि आलोचना खेपेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्पष्टीकरण दिएका छन् । ​

साम्पाङ र सामाजिक सञ्जाल प्रयोगकर्ताको चर्को आलोचनापछि रिमालले आफूले नकारात्मक तरिकाले उक्त अभिव्यक्ति नदिएको पनि उल्लेख गरेका छन् ।

लगातार आलोचित बनेपछि रिमालले आफूले गोप्य प्रयोजनको कार्यक्रममा उक्त कुरा बोलेको भन्दै जवाफ दिएका हुन् । हर्क साम्पाङ र बालेन साहलगायतप्रति वैरभाव राख्नुपर्ने कुनै कारण नभएको पनि उनले उल्लेख गरेका छन् ।

रिमालले लेखेका छन् – अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकमा मैले सामाजिक सञ्जाल बारे बोलेको भिडियो बाहिर आयो । केन्द्रीय कमिटीको त्यो बैठक सार्वजनिक थिएन । छलफलको प्रयोजन गोप्य थियो, विषय रणनीतिक थियो ।

आन्तरिक भएकोले यस्ता बैठकहरुमा प्राय: अनौपचारिक भाषा बोलिन्छ । अनौपचारिक भाषा बोल्दा शब्द तौलिएर बोलिंदैन । त्यहाँ पनि त्यस्तै भएको थियो, सबै चिनेजानेकाहरु बीच मैले बोल्दा कुनै साबधानी अपनाईन । आफ्नालाई सकेसम्म उत्साहित पार्ने र पार्टीले राखेको लक्षतिर प्रतिवद्ध बनाउने प्रयास गरें ।

यो डिजिटल युगमा गोप्य, गोप्य रहँदो रहेनछ– कुनै न कुनै तरीकाले ओपन हुँदो रहेछ । हो, यहाँ चाँहि मेरो असावधानी हुनपुग्यो । हामी छर–छिमेकमा, दाजुभाइका बीचमा कुरा गर्दा दाइ सा’प, काका सा‘प भन्दैनौं ।

लोकल स्ल्याङ्गमा– कालेदाइ, सेतेदाइजस्ता शब्दहरु पनि प्रयोग हुन्छन् । त्यस्तै, त्यो बन्द–बैठकमा कुरा राख्दा अनौपचारिक तबरबाट प्रयोग भएको शब्द/वाक्य/वाक्याँश सार्वजनिक हुँदा सायद अशोभनीय सुनियो । अमर्यादित जस्तो लाग्न पुग्यो ।
‘भाइरल–भिडियो’को मेरो अभिव्यक्तिलाई यसरी बुझिदिनु होला ।

हर्क साम्पाङ र बालेन साह जस्ता साथीहरु स्थानीय सरकारको नेतृत्वमा आउनु भएको छ । केही गर्छु भन्ने युवाहरु, चाहे मेरा पार्टीका हुन् वा स्वतन्त्र, उहाँहरुप्रति वैरभाव राख्नुपर्ने कारण नै छैन ।

नजिकबाट मलाई चिन्ने जो कोहीलाई थाह छ– फ्रण्टलाईन, प्रचार, वाहवाही भन्दा पर हदैसम्म काममा जोतिन चाहने मान्छे हुँ । त्यसैले म अहिले पनि भन्छु, यो देश बनाउन काममा निर्लिप्त भएर लाग्नै पर्छ, एकप्रकारले भन्ने हो भने हामी “बहुलाउनै” पर्छ ।

हर्कजी दिनरात जनतालाई श्रममा लगाइ पानी खुवाउने भनेर लाग्नु भएको छ । सामाजिक सञ्जालबाट श्रमदान गर्न आउन भन्नु भएको रहेछ । म श्रमिक आन्दोलनबाट नै राजनीतिमा आएको मानिस हुँ ।

मेरो जीवनको उर्जाशील ३० वर्ष श्रमिकहरुको हकहित र सुरक्षाका काममा वितेको छ । म पूर्व आउँदा धरानमा पनि आउन सक्छु, मौका मिले त्यहाँ पनि श्रम गरौंला । मौका नमिले पनि म श्रमबाट टाढा छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here