रेशम चौधरीलाई कानूनविपरीत आममाफी दिने प्रस्ताव शीतल निवासमा

फाइलफोटो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको बाँकी सजाय माफी गर्न सरकारले राष्ट्रपति समक्ष प्रस्ताव लगेको छ ।

टीकापुर हत्याकाण्डमा तीन तहका अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई कानूनविपरीत आममाफी दिने तयारी गरेको हो । हालै मात्र सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको फैसला सदर गरेको थियो ।

संविधानको धारा २७६ मा भएको ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने’ व्यवस्था अनुसार उक्त सजाय माफी दिन प्रस्ताव गरेका हुन् ।

त्यसै व्यवस्थामा टेकेर राष्ट्रपतिबाट गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते आम माफी दिने तयारी सरकारले गरेको हो ।

चौधरी २०७४ साल फागुन १५ गतेदेखि थुनामा रहेकाले उनले पाँच वर्षभन्दा बढी समय कारागारमा बिताएका छन् ।

उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने छ । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिव १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका प्रमुख योजनाकार चौधरी अहिले डिल्लीबजार कारागारमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here