काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।
त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।
पशुपतिमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चढाइएको जलहरी सुन भनेर पित्तल चढाएको आरोप नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले लगाएको भन्दै एमालेले संसद् अवरोध गरेको हो ।
सांसद दाहालले नीति तथा कार्यक्रमका विषयमा बोल्ने क्रममा पशुपतिको जलहरीमै भ्रष्टाचार भएको आरोप लगाएका थिए ।
एमालेले माओवादीकातर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नखिने अडान लिएको बताइएको छ । माओवादीले भने आफ्नो भनाइ ठिक भएको दाबीसहित माफी नमाग्ने अडान राखेपछि बैठक अवरोध गरेको हो । वैठक २० मिनेटको लागि स्थगित भएको छ ।


























