बागमती प्रदेशमा गाडी भाडा घट्यो, काठमाडौंमा चढ्नबित्तिकै १९ रुपैयाँ (भाडादरसहित)

फाइलफोटो

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटाएको छ ।

यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीमा चढ्ने बित्तिकै न्यूनतम २० रूपैयाँ भाडा तिर्नु पथ्र्यो भने अब १९ रुपैयाँ तिर्नुपर्नेछ ।

१० किलोमिटरसम्मको २७ रुपैयाँको भाडाको सट्टा २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँको सट्टामा ३० रुपैयाँ, १५ किलोमिटरसम्म ३५ रुपैयाँको सट्टा ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको दुरीमा ४० रुपैयाँको सट्टामा ३८ रुपैयाँ भाडा कायम भएको छ ।

यसैगरी, मन्त्रालयले उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५. ६९ प्रतिशत भाडा घटाएको छ ।

यसअघि केन्द्र सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.६५ प्रतिशतले भाडा घटाइएको थियो ।

यसअघि बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here