विराटनगरको बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी

काठमाडौं । कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनलाई ध्यान राख्दै आजबाट विराटनगरको बजार क्षेत्रलाई अनिश्चितकाल सम्मका लागि निषेधित क्षेत्र तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात् विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिवार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ ।

कोशी प्रदेशको बजेट अधिवेशन सुरु हुन लाग्दा सुरक्षालाई ध्यान राख्दै विराटनगरलाई अनिश्चितकालिन निषेधित क्षेत्र घोषणा गरिएको हो । कोशी प्रदेश सभाको बजेट अधिवेशन जेठ १४ गतेबाट बोलाइएको छ ।

अधिवेशन बोलाइएसँगै पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आन्दोलनरत पार्टी र समूहले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।

गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here